लमजुङ भूकम्प (अपडेट) : घाइते सबै उपचारपछि घर फर्किए, ३० घरमा क्षति - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 19, 2021

    लमजुङ भूकम्प (अपडेट) : घाइते सबै उपचारपछि घर फर्किए, ३० घरमा क्षति

    unn.prixa.net

    लमजुङ – लमजुङमा बुधवार बिहान गएको भूकम्पका कारण घाइते भएका ६ जना उपचारपछि घर फर्किएका छन् । लमजुङको भुलभुले केन्द्रबिन्दु भएको भूकम्पका कारण घर भत्किँदा बेसीसहर नगरपालिका ६ की उमा गुरुङ, वडा नम्बर ११ की खवकुमारी पाण्डे, दोर्दी गाउँपालिका ७ की मंगलीमाया तामाङ घाइते भएका थिए । 

    यस्तै भाग्ने क्रममा मर्स्याङ्दी गाउँपालिका ६ का गोविन्द अधिकारी, बेसीसहर नगरपालिका ८ की खुसीमाया गुरुङ र वडा नम्बर ८ कै सुमित्रादेवी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    भूकम्पका कारण लमजुङका ३० घरमा क्षति पुगेको र थप क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीले जानकारी दिनुभयो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ र आठ बजेर २६ मिनेटमा पाँच दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । लमजुङमा गएकाे भूकम्प गोरखा भूकम्पकै परकम्प भएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बिहानको पहिलो भूकम्पपछि चार रेक्टर स्केलभन्दा झन्डै दुई दर्जन परकम्प गइसकेको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का लमजुङसहित छिमेकी जिल्लाहरू गोरखा, तनहुँ, कास्की र राजधानी काठमाण्डौ लगायतका ठाउँमा महसुस गरिएको थियो । गोरखा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकबाट भुलभुले झन्डै ३३ किमी पश्चिममा रहेको छ ।  

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad