जसलाई जनयुद्धमा चापाकोटले गुमायो - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, February 13, 2021

    जसलाई जनयुद्धमा चापाकोटले गुमायो


    तस्बिर: राजा ठकुरी
    स्याङ्जा १ फागुन । वि. सं. २०५२ फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी केही सरकारी कार्यालयहरुमा एकैपटक आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको सुरुवात गरेको थियो ।
    २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । १० बर्षसम्म चलेको युद्धमा सरकार र विद्रोही पक्षबाट गरी करिब १७ हजारभन्दा बढी नेपालीले आफ्नो ज्यान गुमाएका थिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए । द्वन्द्वबाट स्याङ्जाको चापाकोटले १८ जनालाई गुमायो भने कैयौँ घाइते भए

    १. यमेश गैह्रे
    २०३९ चैत्र २०-२०५८ कात्तिक १४
    चापाकोट १०, किसान (साविक कुवाकोट ४, किसान) निवासी निलकण्ठ गैह्रे र यमकला गैह्रेको जेठो सन्तानको रुपमा यमेश गैह्रेको जन्म २०३९ चैत्र २० मा भएको थियो । बुद्ध बोर्डिङ स्कूलबाट विद्यालय तहको अध्ययन सुरु गरेको गैह्रेले २०५७ मा गंगालाल माविबाट एसएलसी दिएलगत्तै जनयुद्धमा प्रत्यक्ष रुपमा सहभागी भए । विद्यालय अवस्थादेखि नै अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारीको सदस्य भएका गैह्रे २०५८ देखि ने।क।पा। माओवादीमा एसीएम (एरिया कमिटी मेम्मर) थिए । तत्कालिन समयमा उनलाई जनयुद्धको बारेमा भित्ते लेखन गरी प्रचार प्रसार गर्ने जिम्मा पार्टीले दिएको थियो । उनी त्यही काममा व्यस्त थिए । पाल्पा, भुजातमा रहेको आफ्नो मामाघर गएर २०५८ कात्र्तिक १४ गते घर फर्किने क्रममा चापाकोट नगरपालिका वडा नं २, माथिल्लो फूलबारीमा गैह्रेको अज्ञात समूहले हत्या गरेको थियो । उनको परिवारलाई नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले राहत स्वरुप रु। १० लाख प्रदान गरेको छ । उनी अविवाहित थिए।

    २. गुप्त बहादुर वि.क.
    २०१८ भदौ १२ - २०५८ कात्तिक १७
    चापाकोट ९, बैडी (साविक चापाकोट २, बैडी) निवासी उमाखर वि.क. र इन्दिरा बिकको जेठो सन्तानको रुपमा गुप्त बहादुर विकको जन्म २०१८ भदौ १२ मा भएको थियो । रत्नपुर प्रा.वि.बाट विद्यालय तहको अध्ययन सुरु गरेको वि.क.ले २०३४ मा गंगालाल माविबाट एसएलसी र बिएस्सी सम्मको अध्ययन पि।एन। क्याम्पस पोखराबाट गरेका थिए । उनले बीएस्सी सकेलगत्तै विभिन्न विद्यालयमा अध्यापन गर्ने क्रममा २०४८ सालमा स्थायी शिक्षक भई गंगालाल मा।वि।मा अध्यापन गरेका थिए । नेपाल प्रगतिशिल विद्यार्थी युनियन (नेप्रवियु) को केन्द्रीय उपाध्यक्षसमेत रहेका वि.क. स्याङ्जा क्षेत्र नं २ को इलाका १४ को उपसचिवसमेत रहेर काम गरेका थिए । २०५८ कात्तिक १४ को चापाकोट घटनापछि कात्तिक १७ गते विद्रोही पक्षले घरमै बसिरहेको बेलामा ३०-४० जनाको समूहले उनको अपहरण गरी चापाकोट १०, बोटेटारमा लगी निर्घात कुटपिट गरी हत्या गरेको थियो । समकक्षी शिक्षकहरुका अनुसार वि.क. हक्की स्वभावका थिए । नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उनको परिवारलाई राहत स्वरुप रु. १० लाख प्रदान गरेको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

    ३. नेत्र नारायण भण्डारी
    २०१७ असोज १२ -२०५८ कात्तिक १८ 
    चापाकोट ९, (साविक चापाकोट ६, सुन्तैलिटार) निवासी उमाखर भण्डारी र टीकादेवी भण्डारीको छोरा नेत्र भण्डारीको जन्म २०१८ भदौ १२ मा भएको थियो । मिडल स्कुल बैडी (हाल गंगालाल मावि)बाट विद्यालय तहको अध्ययन सुरु गरेका भण्डारीले २०३४ सालमा गंगालाल माविबाट एसएलसी र आर।आर। क्याम्पस काठमाडौंबाट आईएसम्मको अध्ययन गरेका थिए । २०४४ सालमा भएको प्रधानपञ्चको चुनावमा विजयी भण्डारीले बहुदल आएपछि नेपाल काँग्रेसमा लागेर सक्रिय राजनीति गरे । २०४९ सालको स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट गाविस अध्यक्षका उम्मे द्वार बनेका भण्डारी नेकपा एमालेका उमेद्ववार हरि पंगेनीसँग ३८५ मतले पराजित भए । २०५८ कात्तिक १४ को चापाकोट घटनापछि कात्तिक १७ गते विद्रोही पक्षले घरमै सुतिरहेको बेला उनको अपहरण गरी निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भण्डारीको १८ गते मृत्यु भएको थियो । नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उनको परिवारलाई राहत स्वरुप रु. १० लाख प्रदान गरेको छ । उनको श्रीमती र एक छोरा छन् ।

    ४. विष्णु बहादुर चन्द
    २०३२ असार १४- २०५८ मंसिर १४
    चापाकोट ५ (साविक सेखाम गाविस वडा नं ६) निवासी बुबा हेम बहादुर चन्द र आमा दुर्गा कुमारी चन्दको छोरा विष्णु बहादुर चन्दको जन्म २०३२ असार १४ मा भएको थियो । सरस्वती विद्या मन्दिरबाट विद्यालय तहको अध्ययन सुरु गरेका चन्दले त्यहीबाट एसएलसीसम्मको अध्ययन गरेका थिए भने एसएलसीपछि त्यही विद्यालयमा पढाउने काम गरेका थिए । उनले नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलको क्षेत्र सदस्य र नेपाल शिक्षक संघको जिल्ला सदस्यसमेत भएर काम गरेका थिए । द्वन्द्वरत विद्रही पक्षले चन्दको २०५८ मंसिर १४ गते तत्कालिन शेखाम गाविस घुरपालमा आक्रमण गरी घाईते बनाइपछि उनको उपचारको क्रममा पाल्पाको रामपुरमा मृत्यु भएको थियो । नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उनको परिवारलाई राहत स्वरुप रु. १० लाख प्रदान गरेको छ । उनको श्रीमती, दुई छोरा र छोरी छन् । चन्दकी श्रीमती हितमाया चन्द चापाकोट नगरपालिका वडा नं ५ को निर्वाचित वडा सदस्य हुन् ।

    ५. टीकाबहादुर श्रेष्ठ
    २०३२ चैत्र २ -२०६०
    चापाकोट १, (साविक कुवाकोट ९ आँधिगाउँ) निवासी दिल बहादुर श्रेष्ठ र पृथी थोम श्रेष्ठको छोरा टीकाबहादुर श्रेष्ठको जन्म २०३२ चैत्र २ मा भएको थियो । भानु मा।वि चौघेराबाट विद्यालय तहको अध्ययन सुरु गरेका श्रेष्ठले २०४९ एसएलसी र आरआर क्याम्पस काठमाडौंबाट बीएसम्मको अध्ययन गरेका थिए । बीए अध्ययन गरेपछि बुद्ध बोर्डिङ चापाकोट, आदर्श मावि बालिङ् र सप्त गण्डकी बोडिङ स्कुल काठमाडौंमा प्राध्यापन गरेका श्रेष्ठले २०५८ सालमा प्रहरी सहायक निरीक्षक भई प्रहरी सेवामा प्रवेश गरेका थिए । गृह मन्त्रालयको अभिलेखमा उनको २०६० फागुन २६ गते विद्रोहीपक्षको आक्रमण परी मृत्यु भएको छ । नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उनको परिवारलाई राहत स्वरुप रु। ७ लाख प्रदान गरेको छ ।

    ६. राजेन्द्र सुवेदी (राजन)
    २०३३ चैत्र २८-२०६०
    चापाकोट ९ (साविक चापाकोट गाविस ६, सुन्तौलिटार) निवासी तीर्थलाल सुवेदी र सीता सुवेदीको एक मात्र छोरा राजन सुवेदीको जन्म २०३३ चैत्र २८ मा भएको थियो । गंगालाल मा।वि।बाट विद्यालय तहको अध्ययन सुरु गरेका सुवेदीले २०५० सालमा एसएलसी उत्तीर्ण गरे । उनले नेकपा एमालेको भातृ संगठनको सदस्यता लिई गंगालाल माविबाट विद्यार्थी राजनीति सुरु गरी जिल्ला समिति सदस्य, इलाका कमिटिको सचिवको रुपमा र जनयुद्धको समयमा नेकपा माओवादीको केन्द्रीय सदस्य एवम् एरिया कमिटी इन्जार्च भएर काम गरेका थिए ।

    विसं २०५८ माघ १२ गते सुवेदीलाई घरबाट सुरक्षा फौजले गिरफ्तार गरेको स्थानीयले बताए । गृह मन्त्रालयको अभिलेखमामा उनकोे मृत्यु २०६० मा भएको भनिए पनि २०५८ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन उनको सतगत गरिएको हो । समकक्षी, अभिभावक र शिक्षककाअनुसार सुवेदी हक्की स्वभावका थिए । नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उनको परिवारलाई राहत स्वरुप रु। १० लाख प्रदान गरेको छ । उनका श्रीमती र छोरा छन्।

    ७. कृष्ण अधिकारी
    २०१८ साउन ३ -२०५८ जेठ १८

    चापाकोट ९ (साविक चापाकोट गाविस १, निर्दिम) निवासी ओबकान्त अधिकारी र दुर्गा अधिकारीको एक मात्र छोरा कृष्ण अधिकारीको जन्म २०१८ साउन ३ मा भएको थियो । गंगालालमा माविबाट विद्यालय तहको अध्ययन सुरु गरेका अधिकारीले एस।एल।सी।सम्म अध्ययन गरे । अधिकारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको सदस्य भै काम गरेका र पछि नेकपा माओवादीको विद्यार्थी संगठन हुँदै नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका हुन् ।उनलाई २०५८ जेठ १८ गते सुरक्षा फौजले आफ्नै घरबाट पक्राउ गरी चापाकोटकै बारीकुनामा लगी गोली हानी हत्या गरिएको हो । नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले उनको परिवारलाई राहत स्वरुप रु. १० लाख प्रदान गरेको छ । अधिकारीको श्रीमती, दुई छोरा र एक छोरी छन् ।



    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad