अलमलमा खनाल–नेपाल समूह !अवधारणापत्र भन्छ– ओलीलाई सच्याउने, एकता कायमै राख्ने - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, March 18, 2021

    अलमलमा खनाल–नेपाल समूह !अवधारणापत्र भन्छ– ओलीलाई सच्याउने, एकता कायमै राख्ने

    काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने भन्नेमा अलमल देखिएको छ । समानान्तर रूपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ ।

    पार्टीको अन्तरसंघर्ष संगठनका आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने रणनीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही रणनीतिअनुरूप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् ।

    बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने, ती कमिटीमा ओलीतिरका मान्छे नआए पदपूर्ति गर्दै जाने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल समूहको योजना छ । उपाध्यक्ष भीम रावलले बिहीबारसम्म आउने समूहगत छलफलको निचोडका आधारमा आगामी योजना तय हुने जानकारी दिए ।

    खनाल–नेपाल समूहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने प्रस्ताव गरेको छ । ‘कमरेड केपी ओलीका विचार र व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । हाम्रो तात्कालिक कार्यभार माथिका चुनौतीहरू सामना गर्नका निम्ति हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो,’ वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा भनिएको छ, ‘त्यसका निम्ति सर्वप्रथम नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । त्यसको पूर्वसर्त २०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्छ ।’

    गत फागुन २८ गते प्रधानमन्त्री निवास बालुवाटारको बैठकबाट भएका निर्णयले भने एकताको आधार कमजोर बनाएको ठहर खनाल–नेपालपक्षीय एमालेको छ । प्रधानमन्त्री ओलीले २८ गते आफूनिकट नेताहरूको केन्द्रीय कमिटी बैठक बोलाएर माओवादी केन्द्रबाट आएका नेताहरूलाई मनोनयन गर्ने र इतर समूहका नेताको जिम्मेवारी खोस्ने निर्णय गरेको सुनाएका थिए । एमाले ब्युँतिएपछि संयुक्त बैठकको प्रयास भइरहेका बेला ओलीको एकलौटी निर्णय सार्वजनिक भएपछि खनाल–नेपाल समूहले पनि केन्द्रीय कमिटी र सांसदहरूको बैठक बोलाएर ओली प्रवृत्तिविरुद्ध लड्ने भन्दै राष्ट्रिय भेला आह्वान गरेको थियो । त्यसपछि गत सोमबार ओलीकै प्रस्तावमा दुवै समूहका पदाधिकारीको बैठक भए पनि त्यो सकारात्मक हुन सकेन । मंगलबार ओली पक्षले गरेको चियापानमा खनाल–नेपाल समूहका नेता सहभागी भएनन् । ओलीले मञ्चबाटै खनाल–नेपालपक्षीय भेलामा सहभागी भए पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।

    खनाल–नेपाल समूहले ओलीसँग सोमबार भएको छलफलमा राखेको प्रस्तावअनुसार नै गत फागुन २८ गतेको निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्‍याए एकताको सम्भावना रहेको भेलामा सहभागी नेताहरूले बताएका छन् । सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादीसँग मिलेर नेकपा हुनुअघिको परिस्थितिमा फर्किन प्रधानमन्त्री ओली तयार भए पार्टी एकता हुने बताए । १ सय २० सदस्यीय संसदीय दलमा नेपाल पक्षका ४० जना मात्रै भए पनि नेकपा एक हुनुअघिको केन्द्रीय कमिटीमा ओली र नेपालपक्षीय नेताहरूको संख्या हाराहारी छ । पछि एकीकरण हुँदा थपिएका केन्द्रीय सदस्यमा ओलीतिर २८ र नेपालतिर १४ जना मात्रै छन् । यस्तै, गत २८ गते अरू २३ जनालाई ओलीले केन्द्रीय कमिटीमा थपेको बताएका छन् । ओलीले पछिल्ला निर्णय केन्द्रीय कमिटीमा पनि एकलौटी बहुमत पुर्‍याउनका लागि गरेको खनाल–नेपाल पक्षको बुझाइ छ । त्यसैले उक्त समूहले पार्टी एकताको बटमलाइन २८ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय खारेजीलाई पनि बनाएको हो ।

    गत २८ गते नै दुईवटा बैठक राखेका ओलीले आउँदो ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा पनि नेपालपक्षीय केन्द्रीय सदस्य उपस्थित नभए अनुशासनको कारबाही गर्नेसम्मको परामर्श ओली समूहमा भइरहेको छ । एमालेको विधानमा लगातार ३ वटा बैठकमा जानकारी नदिई उपस्थित नभए कारबाही गर्न सक्ने प्रावधान छ । ‘अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयास असफल पार्न हामीले सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्नुपर्छ । २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागको पुनःस्थापना गर्नुपर्छ,’ नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्छ । नवौं महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान खोजिनुपर्छ ।’

    भेलामा वरिष्ठ नेता नेपालले २०७१ मा ओली पार्टी अध्यक्षमा निर्वाचित हुनु नै आन्दोलनका लागि दुर्भाग्यपूर्ण भएको बताए । ओलीले अरूप्रति निषेधात्मक व्यवहार गरेर आफ्नो गुटलाई मात्रै बलियो बनाउँदै लगेकाले त्यसविरुद्ध लड्नुपर्ने उनले बताए । ‘तपाईंहरू पनि पीडित, हामी पनि पीडित । पीडित–पीडित एकै ठाउँमा भेला भएका छौं,’ सहभागीलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘नेताहरू पदका लागि हानथाप गरिरहेका छन् भनेर कुनै पनि भ्रममा नबस्नुहोला, ओलीले तहसनहस पारेको पार्टीेलाई हामीले उठाउनुपर्छ ।’ नेपालले ओलीको सानो गुटले पार्टीलाई आफ्नो महत्त्वाकांक्षा व्यवस्थापन गर्ने झुन्डमा परिणत गरेको र त्यसो नसके पार्टी नै विभाजन गर्ने दुस्साहस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘आज हामी कति संवेदनशील अवस्थामा छौं भने पार्टी अध्यक्ष र उहाँको सानो गुटले पार्टीलाई आफ्नो महत्त्वाकांक्षाको व्यवस्थापन गर्ने झुन्डमा परिणत गर्ने नत्र पार्टी नै विभाजन गर्ने दुस्साहस गरिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ । ती महत्त्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढ्नुभएको छ ।’ पार्टी जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन आफ्नोतर्फबाट पहल गर्न पनि वरिष्ठ नेता नेपालले अपिल गरेका छन् ।

    ओलीले आन्दोलन तहसनहस पारे’

    कार्यकर्ताको अध्ययन र सुझावका लागि भन्दै नेता नेपालले प्रस्तुत गरेको प्रतिवेदनको अधिकांश भागमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली नवौं महाधिवेशनमा विजयी भएदेखि गत २८ गतेसम्मको प्रसंग उल्लेख गरिएको छ । प्रतिवेदनको मूल सार नै ओलीले कम्युनिस्ट आन्दोलन तहसनहस पारे भन्ने देखिन्छ ।

    ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए । उहाँका कैयन् नाजायज माग र दाबीलाई सहेर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौं प्रयत्न गरिए तर उहाँका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे,’ अवधारणापत्रमा उल्लेख छ, ‘त्यसको पराकाष्ठा हाम्रोजस्तो संसदीय निर्वाचनमा विरलै प्राप्त हुने वामपन्थीहरूको बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो ।’ प्रतिनिधिसभा विघटनको दुर्घटना टरेलगत्तै अदालतले नमागिएको विषयमा राजनीतिक फैसला गरेर र पार्टी एकताजस्तो नितान्त आन्तरिक मामिलामा प्रवेश गरेर नेकपा (एमाले) लाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्‍याएको अवधारणापत्रमा उल्लेख छ । आफैंले एकता गरेको पार्टी विभाजित हुँदासमेत ओलीले हर्षबढाइँ गरेर आफ्नो विजय र अरूको पराजयका रूपमा प्रचार गराएको आरोप अवधारणापत्रमा छ । नवौं महाधिवेशनयता पार्टीलाई चलायमान हुन नदिन ओलीको मुख्य भूमिका रहेको वरिष्ठ नेता खनालले बताए ।

    ओलीले बोलाए संसदीय दलको बैठक

    पार्टीभित्रको असन्तुष्ट झलनाथ खनाल–माधव नेपाल समूहले राजधानीमा राष्ट्रिय भेला गरिरहेका बेला प्रधानमन्त्री तथ पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबारका लागि संसदीय दलको बैठक बोलाएका छन् । तत्कालीन नेकपामा रहँदा मुख्य सचेतकको जिम्मेवारी पाएका सांसद विशाल भट्टराईका अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

    संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । उनका अनुसार समसामयिक परिस्थिति, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीका समस्यालाई निराकरण गर्नेबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।

    जबज खोसाखोस

    एमालेले आफ्नो कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ भन्दै आएको छ । त्यसलाई परिवर्तित सन्दर्भमा परिमार्जन गर्दै लैजाने उसको नवौं महाधिवेशनको लक्ष्य हो । २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग एकीकरण गर्दा एमालेले जबज छोडेको थियो । तर सर्वोच्च अदालतको आदेशले एमाले ब्यँॅताइदिएपछि दुवै समूहले जनताको बहुदलीय जनवादलाई महत्त्वका साथ व्याख्या गर्न थालेका छन् ।

    बुधबारको भेलामा वरिष्ठ नेता नेपालले जनताको बहुदलीय जनवादलाई प्रधानमन्त्री ओलीले नै छोडेको बताए । ‘माओवादी केन्द्रसँग एकीकरण हुँदा पार्टीमा समेत छलफल नगरी सुटुक्क जबज छोड्ने काम ओलीजीले गर्नुभएको हो,’ उनले भने, ‘त्यसअघि पनि जबज भजाएर विदेशी तत्त्वलाई सेवा गर्ने काम ओलीजीबाटै भएको हो ।’ पार्टी एकीकरण गर्दा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग जबज छोड्ने सहमति गरेका थिए । ओली र दाहालबीच भएको सहमतिकै आधारमा एकताबद्ध भएको नेकपाले जनताको जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सारेको थियो । पछि विवाद बढ्दै जाँदा जबज पार्टीको कार्यक्रम हुनुपर्ने ओलीको अडान थियो । मदन भण्डारी फाउन्डेसनले तल्लो तहसम्म जबजबारे प्रशिक्षणसमेत चलाउँदै आएको थियो । नेकपा एक हुँदासम्म जबजबारे खासै अभिव्यक्ति नदिएको नेपाल समूहले एमाले पुनःस्थापित भएपछि भने यसमा जोड दिन थालेको छ ।

    प्रकाशित : चैत्र ५, २०७७

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad