स्याङ्जामा थप १९ कोराना संक्रमितको मृत्यु; स्थानीय भोजभतेरमा, भेन्टिलेटर स्टोरमा - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, May 13, 2021

    स्याङ्जामा थप १९ कोराना संक्रमितको मृत्यु; स्थानीय भोजभतेरमा, भेन्टिलेटर स्टोरमा

    स्याङ्जामा थप १९ कोराना संक्रमितको मृत्यु; स्थानीय भोजभतेरमा, भेन्टिलेटर स्टोरमा

    स्याङ्जा, ३० बैशाख । स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । कोरोना संक्रमणको पहिलो चरणमा २१ जना र नयाँ भेरियन्टसहितको दोस्रो चरणमा थप १९ जना गरी कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले बताएको छ ।

    images
    images

    कोरोना संक्रमणबाट बैशाख महिनामा मात्रै वालिङ र गल्याङ् नगरपालिकामा ५/५ जना, कालीगण्डकी गाउँपालिकामा ३ जना, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, अर्जुन चौपारी गाउँपालिकामा, हरिनास गाउँपालिका, फेदीखोला गाउँपालिका र आँधिखोला गाउँपालिकाहरुमा १/१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका कार्यालय प्रमुख विष्णुप्रसाद सुवदीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    कोरोना संक्रमणबाट सबैभन्दा बढी वालिङ् र गल्याङ नगरपालिकामा ५/५ जनाको मुत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको अभिलेखमा कोरोना संक्रमणबाट चापाकोट नगरपालिका र बिरुवा गाउँपालिमा एकजनाको पनि मृत्यु भएको छैन तर, चापाकोट नगरपालिकाका एक जना कोरोना संक्रमितको चितवनमा उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताए ।

    कोरोना संक्रमणबाट धेरैको उपचारको क्रममा मृत्यु भएको भए पनि केही व्यक्तिहरुको भने उपचार गर्न लैजाने क्रममा र आइसोलेसनमा बसेकै अवस्थामा मृत्यु भएको छ ।

    कोराना संक्रमितको संख्या ६१३ पुग्यो
    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ६५ महिला र १०३ पुरुष गरी १६८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६१३ पुगेको छ ।

    जिल्लाको आँधीखोला गाउँपालिकामा २८, फेदीखोला गाउँपालिका ५, पुतलीबजार नगरपालिकामा ८९, भीरकोट नगरपालिकामा ५६, अर्जुन चौपारी गाउँपालिकामा १३, वालिङ नगरपालिकामा २४३, बिरुवा गाउँपालिकामा १७, हरिनास गाउँपालिकामा १२, गल्याङ नगरपालिकामा २२, चापाकोट नगरपालिकामा ७८ र कालीगण्डकी गाउँपालिकामा ५३ गरी ६१३ जना सक्रिय संक्रमित पुगेसकेको छ ।

    समुदायस्तरमा कोरोना संक्रमण फैलँदो
    जिल्लाका विभिन्न ठाउँहरुमा गरिएको भेलाले कोरोना संक्रमण समुदायस्तरमा फैलिएको तथ्याङकले देखाएको छ । वालिङ नगरपालिका धरमपानीमा आयोजना गरिएको विवाह र चौरीसी पूजामा सहभाीहरुमध्ये ३५ जनामा गरिएको परीक्षणमा एउटै गाउँका २३ जनामा र धरमपानीमा २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रण पुष्टि भएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।

    त्यसै गरी चापाकोट नगरपालिकाको भुमरीघाट गरिएको चौरासी पूजा र विवाहमा सहभागीहरुमध्ये २९ जनामा नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको चापाकोट नगरपालिकाका सूचना अधिकारी विन्दु कोइरालाले बताउनुभयो ।

    जनशक्तिको अभावमा चारवटा भेन्टिलेटर स्टोरमै
    जिल्ला अस्पतालमा रहेको चारवटा भेन्टिलेटर जनशक्तिको अभावमा स्टोरमै थन्क्याइएको छ ।

    ‘‘भेन्टिलेटर चलाउन तालिम प्राप्त कर्मचारी चाहिन्छ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश आचार्यले कालीगण्डकी खबरसँग भन्नुभयो”, ‘‘बिरामीको अवस्था जटिल बनेपछि कृत्रिम श्वास दिनका लागि प्रयोग गरिने मेसिन (भेन्टिलेट) चलाउने प्राविधिकको अभावमा भेन्टिलेटर चलाउन सकिएको छैन ।”

    जिल्लामा १० वटा अस्पताल, २७२ वेड, २४ वटा एम्बुलेन्स, १० एचडिपी वेड, १४६ अक्सिजन सिलिण्डर रहे पनि एउटा पनि आईसीयु वेड नरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । जिल्लामा रहेका अस्पतालहरुमा आईसीयु बेड नहुँदा संक्रमित बिरामीहरुलाई त्यहाँ उपचार गर्नुभन्दा पनि तानसेन, बुटवल र पोखरामा रिफर गर्ने गरिएको छ ।

    जेठ १५ गतेसम्म निषेधज्ञा थप
    स्याङ्जामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जेठ १५ गतेसम्म थपेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (डीडीसीएमसी) बैठकको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) ले दिएको अधिकारी प्रयोग गरी जिल्लाभर ३१ गते राति देखि जेठ १५ गतेसम्म निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    उहाँले कसैबाट यो आदेशको उल्लंघन भएमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने समेत बताउनुभयो ।
    जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्नबाहेक हिँडडुल गर्न नपाइने व्यवस्था गरेको छ । अत्यावश्यक खाद्यान्नलगायतका पसलहरु बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइन्छ ।

    विवाह, ब्रतबन्ध एव अन्य संस्कारजन्य कार्यक्रम घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बढीमा १५ जना सहभागी भई गर्न पाइने जिल्ला प्रशासन कार्यलय स्याङ्जाले बताएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad